नकारात्मक टिप्पणी गर्ने सबै मेरा सुभचिन्तक, ( किरण बाबु पुन )

संगीत सरोबर डट कम , काठमाडौँ ।

राजु बोहरा // बिगत निकै लामो समय देखि नेपाली गित संगीत , त्यसमाथि पनि लोक तथा दोहोरी गित बाट आम स्रोता दर्शकहरु माझ आफ्नो छुट्टै पहिचान कायम राख्न सफल हुन् सर्बप्रिय कलाकार किरण बाबु पुन । आफ्नो जीवनका सम्पूर्ण भागलाई संगीतमा नै समर्पित गरेका छन् ।
कलाकारहरुको आफ्नै बाध्यता , आफ्नो मनमा जतिसुकै पिर बेथा भए पनि , बाहिर हाँसेरै अरुको लागि खुसि हुनु पर्ने !
संगीतको क्षेत्रमा अनेकौ दुख पिंडाहरु हुन्छन , बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड , यस्तै विभिन्न समस्याका बाबजुत पनि निरन्तर संगीतको क्षेत्रलाई आफ्नो धर्म र कर्म मान्दै अगाडी बढीरहेका
उनै बहुचर्चित कलाकार किरणबाबु पुन संग संगीत सरोबर डट कम ले गरेको कुराकानीलाई हाम्रा पाठक माझ प्रस्तुत गर्दछौं ।

 

प्रश्न – किरण जी यहाँलाई स्वागत छ !

उत्तर – धन्यवाद

प्रश्न – यहाँको अस्थाई ठेगाना ?
उत्तर – दुली-८ कोटगाउँ,रुकुम

प्रश्न – आमा बुवाको नाम ?
उत्तर – आमा गंगा पुन र बुवा नर बहादुर पुन

प्रश्न – बाल्यकाल कता र कसरी बित्यो ?
उत्तर –  मेरो बाल्यकाल गाउँमा बित्यो।उकाली ओराली गर्दै, घाँस दाउरा तथा मेलापात गर्दै बित्यो।म एउटा सामान्य परिवारमा जन्मेको मान्छे ती भिर पाखा,डांडा पाखा,भञ्ज्याङ चौतारी,लेक बेशी,खोला नाला संग अटुट नाता छ । साथै कुटो कोदाली,हलो जुवा,हंसिया बन्चरो,डोको नाम्लो संग गहिरो सम्बन्ध छ।

प्रश्न –  परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
उत्तर – आमा,बुवा,दाइ,भाइ,बहिनी र म जम्मा ६ जनाको परिवार छ।

प्रश्न – गित संगीतको क्षेत्रमा लाग्ने सोच कसरी बन्यो ?
उत्तर – सानैदेखि गित गाउँथें।रेडियो नेपाल बाट गित सुन्दा म पनि यस्तै गित गाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो।गोठालो जांदा बांसुरी बजाउदैं खुब गित गाइन्थ्यो अनि मेलापात तथा बिहेमा पनि गित गाइन्थ्यो सबैले प्रसंसा गर्नु हुन्थ्यो।यसरी नै म यो क्षेत्रमा लाग्न प्रेरित भएं।

प्रश्न – बिबाहित हुँदा र नहुँदाका सांगीतिक क्षेत्रका यात्रालाइ अगाडी बढाउन सहज असहज परिस्थिति ??
उत्तर – अविवाहित मान्छे भएकोले मलाई आज सम्म पारिवारीक साथ राम्रो पाएको छु र यो क्षेत्रमा सहज छ।अब बिबाह भैसकेपछी के कस्तो हुन्छ त्यो कुरा बिबाह पछि भनौंला जहाँ सम्म लाग्छ मेरो जीवन आउने मान्छेले मलाई पक्कै बुझ्नेछिन असहज परिस्थिति आउने छैन ।

प्रश्न – अन्य घर परिवारको तर्फ बाट तपाईं गित संगीतमा लाग्दाखेरीका प्रतिक्रिया कस्तो छ ?
उत्तर – राम्रो छ।सुरुका दिनमा बुवा शिक्षक भएको नाताले पनि होला बुवा आमाले पहिला पढाई सकाउनु पर्छ अनि यो क्षेत्रमा लाग्नु पर्छ भन्नू हुन्थ्यो त्यो मेरै लागि भन्नू भएको हो।तर हर सन्तान को खुशी नै आमा बुवा को खुशी हुदोरहेछ।मेरो खुशी मा मेरो आमा बुवा एकदम खुशी हुनुहुन्छ।

प्रश्न – हरेक दिनको दैनिकी सुरुवात कसरी हुन्छ ?
उत्तर – बिहानै उठ्छु अनि १ घन्टा जति हार्मोनियममा रियाज गर्छु।अनि बिहानको खाना खाइसकेपछी म एच के डिजिटल रेकर्डिङ स्टुडियोमा जान्छु।जुन स्टुडियो म अनि हेमन्त शिशिर मिलेर स्थापना गरेका हौं।

प्रश्न – गीत संगीतको सुरुवात कहिले र कति साल बाट भयो ?
उत्तर – २०६३ साल बाट जानी नजानी यो क्षेत्रमा प्रबेश गरेको हुं ।

प्रश्न – पहिलो गीत ?
उत्तर – माया छ यो मनमा

प्रश्न – अहिले सम्मको गित कति वटा भए ?
उत्तर – यति नै भनेर तथ्यांक राखेको त छैन तर अन्दाज गर्न सक्छु।हुन सक्छ कुनै गितले राम्रो बजार ब्यबस्थापन पाए होलान कुनैले पाएनन होलान या कुनै त बजार ब्यबस्थापन नै हुन सकेनन होला त्यो आफ्नो ठाउँमा छ।आज सम्म मैले रचना गरेको,संगित गरेको अनि गाएको गरेर ५०० भन्दा बढी भए ।

प्रश्न – आफु द्वारा स्वर बद्ध गित अथवा रचित गित मध्ये आफैलाई अत्यधिक मन पर्ने गित कुन हो ?
उत्तर – हुन त मेरा लागि मेरा सृजना अनि मैले गाएका सबै गित समान छ्न तर पनि मैले गाएको गितमा तिम्रै लागि मर्न बांकी छ हो भने संगित गरेको गितमा म पुजा गर्छु मायाको हो।

प्रश्न – गित संगीतको क्षेत्र बाट पाएको सम्मान तथा अवार्ड ?
उत्तर – सम्मान त थुप्रै पाएको छु विभिन्न क्षेत्रका बिशिस्ट ब्यक्तित्वहरु,मन्त्री तथा प्रधानमन्त्री ज्यु को हात बाट सम्मान पाएको छु।मैले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समिती द्वारा बितरित उत्कृष्ट भाका बिधा बाट अवार्ड पाएको छु।

प्रश्न – स्टेज कार्यक्रमका लागि कुन कुन देश पुग्नु भयो ?
उत्तर – म देशका 35/40 जिल्लामा सहभागी भैसकेको छु।बाहिर देशको कार्यक्रममा म भारतमा मात्र पुगेको छु।अब छिटै अरु देशमा जादैंछु।

प्रश्न – नेपाली गित संगीतको बजारको अहिले धरासाही स्थितिले यहाँले आफ्नो सांगीतिक भबिस्य कस्तो देख्नु भएको छ ?
उत्तर – हो अहिले एउटा कलाकार बांच्ने आधार छैन।भोलि के के हुन्छ म आफैलाइ थाहा छैन।एउटा मान्छेको जिन्दगी समय अनुसार चलिरहेको हुन्छ त्यसैले भोलिको कुरा समयले बताउने छ।तर सास छउन्जेल,श्रोता दर्शकको माया पाउन्जेल यहि क्षेत्रमा संघर्ष गरिरहने मन छ।

प्रश्न – गित संगीतको क्षेत्र यसरी तल पर्नुमा दोषी को हो र यसलाई उच्च स्थानमा पुर्याउनका निमित्त कुन तह र तप्का बाट कमजोरी भएको छ ?
उत्तर – मुख्य त राज्य पक्षकै कमजोरी हो।अन्य देशमा कलाकारिता क्षेत्रलाइ राज्य पक्ष बाट छुट्टै ब्यबस्था र सम्मान छ।तर हाम्रो देशमा कलाकारिता क्षेत्रलाइ राज्य पक्ष बाट कुनै किसिमको सम्मान तथा ब्यबस्था छैन।अर्को कुरा हामी सम्पुर्ण कलाकारहरु एक हुन सकेका छैनौं। हामी एक भएर हाम्रो अधिकारको लागि राज्यलाइ दबाब दिन नसक्नु हाम्रो कमजोरी हो जस्तो मलाई लाग्छ।

प्रश्न – यो क्षेत्रको श्रीबिद्धिको लागि राज्यको भूमिका कस्तो रहनु पर्छ ?
उत्तर – मैले भनिसके राज्य बाट हामी कलाकार प्रयोग मात्र भएका छौं।हामिलाइ राज्य बाट एउटा बेग्लै किसिमको ब्यबस्था र सम्मान हुन जरुरी छ । कलाकारलाइ काम पर्दाको गहनाको रुपमा हेरिएको छ तर म भन्छु कलाकारलाइ देशको धरोहरको रुपमा राज्य बाट हेरियोस।कलाकारका हक र अधिकार पनि संबिधानमा समाबेस गरियोस।

प्रश्न – मिडियाको भूमिका ?
उत्तर – एउटा गित चल्नलाइ श्रोता दर्शक सम्म पुग्नलाइ मिडिया बिना सम्भब छैन।त्यसैले एउटा कलाकार सफल हुनलाइ मिडिया अति आबश्यक छ।साथै गित संगित बिनाको मिडिया पनि अधुरो हुन्छ त्यसैले म त भन्छु गित संगित र मिडिया एकै सिक्काको दुई पाटा हुन।

प्रश्न – हाम्रो अनलाइन संगीत सरोबर डट कम को भूमिका कस्तो रहनु पर्छ ?
उत्तर – संगित सरोबर सांच्चिकै कलाकारको दुख सुखको साथी बन्नु पर्छ।कला क्षेत्रमा हुने बिकृती को चिरफार गर्नु पर्छ र राम्रो कुरालाई संधै साथ दिनु पर्दछ।चाहे नयाँ चाहे पुरानो सबै कलाकारले समान रुपले स्थान पाउनु पर्छ।संगित सरोबर सधैं गित संगितको हितको लागि अघि बढ्नु पर्दछ।संगित सरोबरले कलाकारका हक अधिकारका कुरा बोकेर राज्यको ढोका ढकढक्याउनु पर्छ।

प्रश्न – पहिलेको तुलनामा गायक चनाकार तथा संगीतकार किरण बाबु पुनको चर्चा अलि न्यून भएकै हो त?
उत्तर – समय सधैं एकनासको रहदैन।समय संगै एउटा मान्छेको जिन्दगी अविरल चलेको हुन्छ।यहि समय संगै हातेमालो गर्दै जांदा जिन्दगीमा उतार चढाब धेरै आउँदा रैछ्न।हो यहि समय संगै मेरो जिन्दगीमा पनि उतारचढाव पक्कै आकै हुन।हो पहिलाको तुलनामा मेरा गित संगित केही मात्रामा कम आएकै हुन तर चर्चा कम भन्न मिल्दैन किनकी किरण बाबु पुन सधैं श्रोता दर्शककै मन मुटुमा बस्नलाइ हर पल संघर्ष गरिरहेको छ।यहि क्षेत्रमा १० बर्ष देखि आज सम्म तिरन्तर संघर्षशिल छ।यहि क्षेत्रमा लागिरहनकै निम्ति म र हेमन्त शिशिर मिलेर एच.के डिजिटल रेकर्डिङ स्टुडियो पनि संचालनमा ल्याएका छौं।ता कि मेरा गित संगित बजारमा ल्याउन सहजीकरण पक्कै हुनेछ ।

प्रश्न – किरण बाबु पुनले लोक गित संगितको धार परिबर्तन गर्यो,बिगार्यो भन्ने आरोप लाग्छ नि के यो सांचो हो?
उत्तर –  हरेक कुरामा सकारात्मक र नकारात्मक टिप्पणी हुने गर्दछन।सकारात्मक टिप्पणी जस्ले गर्नु हुन्छ उहाँ मेरो आदर्श हो भने नकारात्मक टिप्पणी जस्ले गर्नु हुन्छ उहाँ मेरो शुभ चिन्तक हो किनकी नकारात्मक टिप्पणी बाटै मलाई उर्जा मिल्छ र राम्रो काम गर्न प्रेरित गर्दछ।हो मेरो क्षितिज पारी उनको बस्तिमा पछि लोक गित संगितको धार पक्कै परिवर्तन भएकै हो तर बिगारेको भन्ने कुरा म मान्दिन किनकी मेरा प्रत्येक गित लोकलय तथा मौलिकपन मै आधारित रहेर हल्का फरकपनका साथ सृजित सृजना हुन।म अझैं पनि मौलिकता नमर्ने गरि लोकपन नमर्ने गरि परिबर्तन आबश्यक देख्छु।नयाँ जमाना अनुसार नयाँ पुस्तालाई र पुराना पुस्तालाई दुबैलाइ समेटेर सबैले रुचाउने गरि लोकपन मौलिकपनमै आधारित रहेर अझैं परिबर्तन जरुरी छ।

प्रश्न – भाग्य र कर्ममा विश्वास बढी कुन गर्नु हुन्छ ?
उत्तर –  दुबैमा बिस्वास गर्छु।

प्रश्न – अन्तमा के भन्न चाहानु हुन्छ?
उत्तर – मेरा श्रोता दर्शक बिना म अधुरो अपुरो हुन्छु। मलाई सधैं हजुरहरुको साथ सल्लाह सुझाबको खांचो हुन्छ।हजुरहरुको यस्तै साथ र मायाको अपेक्षा गर्दछु।साथै यसरी मलाइ श्रोता दर्शक सामु मनका कुरा राख्ने अबसर दिनु भएकोमा संगित सरोबर डट कम युनिट लाई धेरै धेरै धन्यवाद ।।

गायक किरण बाबु पुन द्वारा सृजित बहुचर्चित गित छितिज पारी उनको बस्तीमा बोलको गीतको म्युजिक भिडियो हेर्नुहोस ।