लोकप्रिय गायक रामजी खाँण र शान्तिश्री परियारको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत ‘लुकी लुकी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली लोकसङ्गीतको दुनियाँमा फेरि एकपटक जीवन्त अभिनय, रमाइलो लय, दमदार स्वर र शैलीको मिश्रण बोकेको नयाँ लोकदोहोरी गीत ‘लुकी लुकी’ सार्वजनिक भएको छ।

लोकप्रिय गायक रामजी खाँण र गायिका शान्तिश्री परियारको सशक्त स्वरले सजिएको यो गीतले छोटो समयमै दर्शक स्रोताको ध्यान तान्न सफल भएको छ।

विनया अधिकारीकृष्ण लामिछानेको शब्द सिर्जनामा तयार पारिएको यस गीतमा परम्परागत लोकभावनासँगै आधुनिक युवापुस्ताको शैली मिसिएको छ। संगीत कृष्ण लामिछानेकै रहेको छ भने आकर्षक हुकलाइन विनया अधिकारीले लेखेका हुन्।

गीतको भिडियो पक्षलाई झनै आकर्षक बनाउन सुनिल क्षेत्री, प्रियंका कार्की, विनया अधिकारी, करिश्मा ढकाल, बिना राउत, करिश्मा शाहीलोसीना लमिछानेले अभिनय गरेका छन्। निर्देशन स्वयं सुनिल क्षेत्रीले गर्नुभएको छ। छायांकन, सम्पादन र रंग संयोजन पवन सुशलिङको रहेको छ।

गीतको बोल “तिमीलाई भेट्न ओइ माया बस्छु ढुकीढुकी, नहिँड न ओइ माया लुकी लुकी” बाट सुरू भएर मन लोभ्याउने चाल, रमाइला कटाक्ष र सामाजिक प्रेमप्रवृत्तिलाई झल्काउने संवादहरूमार्फत गीतले प्रेम र हास्यरस दुबैको समायोजन गरेको छ।

गीतमा प्रयोग गरिएका व्यङ्ग्य–प्रधान संवादहरूले गीतलाई थप मनोरञ्जनात्मक बनाएका छन् –
– “गालामा डाम बस्ला पाँच औँलाको!”
– “रावणले झैँ हरेर लाने हो?”
– “रावण हैन, बनिदेऊ राम जस्तो।”

यी संवादहरूले युवापुस्ताको प्रेमप्रतिको धारणा, व्यवहार र चाहनालाई चुलोचोकाबाट बजारसम्म झल्काउने लोकशैलीमा प्रस्तुत गरेका छन्।

सेट डिजाईनर जटाशंकर,र  कोरियोग्राफर  अभि वाग्ले, मेकअप कलाकारहरू अनिमेश गुरुङ, सुवास तिमल्सिना र सुजिता श्रेष्ठको योगदानले भिडियोको दृश्य पक्षलाई आकर्षक बनाएको छ।

गीतले हास्यरस र प्रेमरसको संगालोमार्फत नेपाली समाजमा विद्यमान लुकीछिपी प्रेम, प्रेममा घमण्ड, समर्पण र इमान्दार सम्बन्धको सन्देश दिन खोजेको देखिन्छ।

भिडियो हेर्नुहोस्: